१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका विभिन्न नीति, मेक्सिको सीमामा पर्खाल बनाउन रोकिने


0
Shares

us president biden release orders

एजेन्सी, माघ ८ । अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइट हाउसमा आफ्नो कार्यकाल शुरुगर्दै बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएका धेरै नीतिहरु उल्ट्याउन कार्यकारी आदेश जारी गर्नुभएको छ ।

शपथ लगत्तै ‘हामीले सामना गरिरहेको संकटसँग जुध्ने क्रममा खेर फाल्ने समय छैन’ भन्दै ह्वाइट हाउस प्रवेश गर्नु भएका राष्ट्रपति बाइडनले कोरोनाभाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तीब्र पार्न आदेशहरू जारी गर्नुभएको हो ।

यसैगरी पूर्ववर्ती ट्रम्प प्रशासनले ल्याएका जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धका नीति उल्ट्याउने गरी उहाँले आदेश जारी गर्नुभएको छ ।

कार्यकारी आदेशसँगै जारी वक्तव्यमा राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्,’ उल्लेख छ ।

जसमा, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने निर्णय रद्द गर्दै भाइरस विज्ञ डा. एन्थोनी फाउचीलाई यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा भाग लिन पठाउने, कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने, सबै संघीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिन, आगामी एक सय दिनसम्म मास्क लगाइरहन आग्रह गरिने छन् ।

वातावरणसम्बन्धी आदेशमा, सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि संलग्न हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गर्ने भनिएको छ ।

आप्रवासनका सम्बन्धमा लिइएका दुई प्रमुख निर्णयमा, ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध फुकुवा, मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण कार्य बन्द रहेका छन् ।