
काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न स्थानबाट निकालेको जुलुश र मध्य सडकको बीचमा मञ्च राखेर सभा गर्दा आम मानिसले भने अनाहकमा दुःख पाएका छन् ।

काठमाडौंको रत्नपार्कबाट भद्रकालीतर्फ जाने मूल सडक नै कब्जा गरेर सभाका लागि मञ्च बनाउँदा टुँडिखेल वरिपरिको सडक भएर जाने विभिन्न ठाउँका यात्रु र सवारी प्रभावित बनेका हुन् ।
रत्नपार्कबाट भद्रगाली जाने सडकको प्रदर्शनी मार्ग प्रवेश गर्ने र भन्द्रगाली जाने विन्दुमा मञ्च तयार गरिएको हो । जसका कारण काठमाडौंका लगभग सबैतर्फ जाने तथा रत्नपार्कबाट ललितपुर र भक्तपुर जाने सवारी र यात्रु प्रभावित भएका छन् ।

आफ्नो राजनीतिक लाभका लागि दलहरुले सडक नै कब्जा गरेर यसरी कार्यक्रम राख्दा विरामी बोकेर अस्पताल जाने एम्बुलेन्सलगायतका आपतकालीन सेवा प्रभावित बनेका हुन् ।
काठमाडौंमा विभिन्न ९ स्थानबाट निस्केको जुलुश निस्किएर पुरानो बसपार्कअगाडि सभामा परिणत भएको हो । विभिन्न ठाउँबाट निस्कने जुलुशको नेतृत्वका लागि नेकपाका विभिन्न नेतालाई जिम्मेवारीसमेत तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्