
काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजदूत बेरीले राष्ट्रपति जो बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्नु भएको हो ।
जलवायु परिवर्तन, आणविक प्रसार, साइबर युद्ध, कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीको कुनै पनि मुलुकले एक्लै सामना गर्न नसक्ने भएकाले साझा रुपमा सम्बोधन गर्न बाइडन प्रशासनले चाहेको राजदूत बेरीले बताउनुभएको थियो ।
त्यसका लागि अमेरिकाले नेपाल र अरु देशसँग साझेदारी गर्न चाहेको उहाँले उल्लेख गर्नुभयो ।
भेटपछि दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राष्ट्रपति बाइडनले भने, ‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीको सामना गर्न । हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक बलियो र विश्वासिलो साझेदार हुनेछौँ ।’
नेपाल जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेको भन्दै राजदूत बेरीले सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्न दूतावास तयार रहेको बताउनुभएको थियो ।
बाइडन प्रशासनले स्वदेश र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुने लगायत गरी मानव अधिकारको नेतृत्व लिने बताएको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्