
काठमाडौं, माघ १२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभएको हो ।
निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उहाँले बताउनुभयो ।
निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।
निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्यो भन्ने बुझाई गलत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्