
काठमाडौं, माघ १२ । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा तीन वटे विभागीय टिम पुगेका छन् ।
त्यसैगरी प्रदेशबाट बागमतीमात्र अन्तिम चारमा पुगेको छ ।
सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
समूह चरणको अन्तिम खेलमा सशस्त्रले आर्मीलाई पराजित गरेको छ ।
कीर्तिपुर मैदानमा भएको खेलमा सशस्त्र ६ रनले विजयी भएको हो ।
योसँगै सशस्त्र अपराजित रहँदै समूह ए को विजेता तथा आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
सशस्त्रले दिएको २ सय ४१ रनको चुनौती पछ्याएको आर्मीले ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो ।
अनिल मण्डलले सर्वाधिक ४५ रन बनाएको इनिङ्समा कमल ऐरीले ३ विकेट लिए ।
यसअघि सशस्त्रले दुई बल खेल्न बाँकी छँदै अलआउट हुँदै दुई सय ४० रन बनाएको थियो ।
सुमित महर्जनले ४६ रन बनाएको इनिङस्मा हरि चौहानले ५ विकेट लिएका थिए ।
यो समूहबाट कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ बाहिरिएका छन् ।
त्यस्तै अर्को समूहबाट बागमती प्रदेश समूह विजेता बन्दा पुलिस उपविजेता बनेको छ ।
पुलिसले अन्तिम खेलमा मूलपानी मैदानमा प्रदेश २ लाई ४ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ्ग गरेको प्रदेश २ ले ९ विकेटको क्षतिमा एक सय ६९ रन बनाएकामा पुलिसले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
यो समूहबाट लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्