
काठमाडौं, माघ १३ । कानूनीरुपमा विभाजित हुन बाँकी सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले विज्ञप्तिमार्फत राष्ट्रिय अभियान घोषणाको जानकारी गराउनु भएको हो ।
‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ ।
त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं’, गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको विज्ञप्तिमा जनाइएको छ ।
बामदेव ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका समाचारको पनि गौतमको सचिवालयले खण्डन गरेको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुईवटा चिरामा परेको छ ।
बामदेवले भने आफ्नो पक्षधरता देखाउनु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्