१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले सहिद, वेपत्तालगायतका परिवारलाई सम्मान गर्ने


0
Shares

काठमाडौं, माघ १४ । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को माघ ११ गते बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा खानेपानीमन्त्री मणि थापा र भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहनुभएको समिति गठन गरेको हो ।

यस्तै बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खरेज गर्ने निर्णय गरेको छ ।

वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्वीर अंकित छपाई भई आएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को माघ ५ गते सोमबार बसेको बैठकले अर्थमन्त्रालयको प्रस्तावमा नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृति गर्ने निर्णय गरेको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोभिड १९ विरुद्धको खोप भण्डारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकेको स्थान डिजाइन र लागत अनुमान अनुसारको बजेट भित्र रही केन्द्रमा एक र सबै प्रदेशमा एक÷एकवटा गरी जम्मा ८ वटा भण्डारण गृह खरिद प्रक्रिया बाहेक दुई महिना भित्र निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।