१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१८ गतेपछि छलफल कार्यक्रम राख्न आयोगलाई दाहाल-नेपाल समूहको निवेदन


0
Shares

काठमाडौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले निर्वाचन आयोगलाई दल दर्ताको प्रक्रिया अघि बढाउनका लागि आग्रह गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न बोलाएको बैठकमा ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ लगायतले आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले दल दर्ताको प्रक्रिया अगाडि बढाउन जोड दिनुभएको हो ।

दाहाल–नेपाल समूहले भने दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपत्यका बाहिर रहेकाले माघ १८ गतेपछि मात्र छलफलको कार्यक्रम तय गर्न आयोगलाई आग्रह गरेको छ ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले अध्यक्षद्वय दाहाल र नेपाल बाहिर रहेकाले प्रतिनिधि मनोनयन गर्न नसकिएको चिठी निर्वाचन आयोगमा पठाउनुभएको छ ।

‘माघ १८ गतेपछि उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्नु हुन अध्यक्षज्यूको अनुरोध छ,’ ढकालले आयोगमा पठाएको पत्रमा उल्लेख छ ।

सोही पत्र आयोगलाई बुझाएर नेताहरू राजेन्द्र पाण्डे र लीलामणि पोखरेलसहित नेताहरू आयोगबाट फर्किनु भएको छ ।

अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि पठाउन आयोगले बिहीबार नेकपाको दुबै समूहलाई पत्र पठाएको थियो ।

आयोगले नेकपाको दुबै समुहलाई पार्टीको विवादबारे छलफलका लागि पाँच–पाँच जना प्रतिनिधिलाई बोलाएको थियो ।

संसद विघटनपछि दुई भागमा विभाजित नेकपाको दुवै समूहले आफूलाई आधिकारीक बताउँदै आइरहे पनि आयोगले भने नेकपा एउटै रहेको जनाएको छ ।