
काठमाडौं, माघ १ट । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताउनुभएको छ ।
नविल बैंकले काठमाडौंको कुलेश्वर स्थित थोक फलफुल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताउनुभयो ।
पैसाको माध्यमबाट संक्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको बताउनुभयो ।
गभर्नर अधिकारीले आफु पैसामा हस्ताक्षर गर्ने व्यक्ति भएपनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको पनि बताउनुभयो ।
नगदको प्रयोग कम हुँदा, देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उहाँको भनाई छ ।
यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैंका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताउनुभयो ।
सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबार सम्बन्धी शिक्षा दिन सकिने पनि सिइओ शाहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्