
भरत शर्मा (इमेज)
पाल्पा, माघ १८ । पाल्पाको रामपुरमा दुई वर्ष अगाडि नै निर्माण सक्ने गरि ठेक्का संझौता गरेको जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पताल भवन अलपत्र परेको छ ।
अस्पताल प्रशासनले निर्माण कम्पनीलाई पटक पटक दवाब दिए पनि ठेकेदारले बेवास्ता गर्दै आएको बताएको छ ।
दुई वर्ष अगाडी नै निर्माण कार्य पुरा गर्ने गरि रविना कन्सट्रक्सनसँग ठेक्का संझौता गरेको पाल्पाको रामपुरमा जिल्लाकै सबैभन्दा ठुलो सरकारी अस्पताल भवन अहिले अलपत्र अवस्थामा छ ।
वि.स. २०७२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० शैयाको रामपुर अस्पतालमा रुपान्तरित भएसँगै भवनको निर्माण कार्य पुरा गर्न निर्माण कम्पनीसँग २२ करोड रुपैयाँको लागतमा ठेक्का संझौता भएको थियो ।
भौतिक पुर्वाधारका लागि सरकारले करोडौ रुपैयाँ खर्चिए पनि निर्माण कम्पनीको ढिलासुस्ती, नियमन तथा प्राविधिक रेखदेख गर्ने कार्यालयको बेवास्ताका कारण समयमा निर्माण कार्य पुरा नभएको हो ।
स्थानीय स्तरमै अस्पताल बन्ने भएपछि खुशी भएका स्थानीय म्याद नाघेको २ वर्ष पुरा भइसक्दा पनि अस्पताल नबन्दा निराश भएका छन् ।
निर्माण कम्पनीको लापरवाहीका कारण भवन निर्माण कार्य ढिला भएको स्थानीयको भनाइ छ ।
दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी स्वास्थ्य सेवाका लागि आउने गरेको अस्पतालको भौतिक पुर्वाधारको कार्य ५ वर्षको अवधिमा निर्माण कम्पनिले जम्मा ८० प्रतिशत मात्र निर्माण कार्य पुरा गरेको छ ।
पटक पटक विभिन्न बहाना देखाउँदै निर्माण कम्पनीले कछुवाको गतिमा निर्माण कार्य अगाडी बढाउँदा स्थानीय विशेषज्ञ सेवाबाट बन्चित भएका छन् ।
यता निर्माण कम्पनीका प्राविधिक महमद अन्सारुल कोभिड– १९ का कारण समयमा निर्माण कार्यको प्रगती नभएको र अवको केही महिनामा काम सक्ने बताउनु हुन्छ ।
समयमा निर्माण कार्य पुरा गर्न अस्पताल प्रशासनले निर्माण कम्पनीलाई पटक पटक दवाब दिए पनि निर्माण कम्पनीले बेवास्ता गरेको प्रशासनले जनाएको छ ।
भौतिक संरचनाको अभाव भए पनि रामपुर अस्पतालले भने नागरिकलाई सेवा दिँदै आएको छ ।
५० शैयाको रुपमा स्तरोन्नती भएपनि भौतिक संरचना तयार नभएकाले १५ शैयाकै संरचनामा नागरिकलाई सेवा दिदै आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजय परियार बताउनुहुन्छ ।
समयमा निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई नेपाल सरकारले स्पष्ट नीति बनाएर कारबाहीको प्रकृया अगाडी नबढाएका कारण रामपुर अस्पताल जस्ता सयौं स्वास्थ्य सँस्थाका भवनहरु अलपत्र अबस्थामा रहेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्