
काठमाडौं, माघ २२ । नेकपा दाहाल समूहले आज आह्वान गरेको आमहड्ताल अन्तर्गत काठमाडौं, गोंगबु क्षेत्र प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् ।
जनजीवन अस्तव्यस्त बनाउन उत्रिएका उक्त समूहका कार्यकर्ताले गोंगबु, सामाखुशी, माछापोखरी बालाजु चोक क्षेत्रमा आफ्नो प्रभाव देखाएका हुन् ।

चक्रपथको मूल सडकदेखि भित्री गल्लीहरुमा समेत सहजतापूर्वक सवारी साधन चल्न दिएका छैनन् । मोटरसाइकल र साइकल चलाउनेलाईसमेत अवरोध गरिएको छ ।
अत्यावश्यक काममा निस्किएका मोटरसाइकल चालकहरुलाई जबरजस्ती गर्ने, धम्क्याउने, तर्साउने काम हड्तालका पक्षधरहरुले गरेका छन् ।

आज विहानै गोंगबु चोकमै एउटा ट्याक्सीमा आगजनी गरेर ध्वस्त पारिएको थियो ।
सुरक्षाको जिम्मा लिएको प्रहरी भने निरीह देखिएको थियो । प्रदर्शनकारीले यात्रुलाई धम्क्याउँदा पनि सुरक्षा निकायले कुनै प्रतिरोध गरेको देखिएन ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा रहेको दाहाल नेकपाले आज देशभर आमहड्तालको आह्वान गरेको हो ।
उक्त समूहको बन्दका कारण गरिखाने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । नेताहरु प्रदर्शनका लागि सडकमा उत्रिए पनि त्यसले आमजनतामा परेको असरप्रति उनीहरु निर्मम देखिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्