
नरेन्द्र मानन्धर (इमेज)
काठमाडौं, माघ २२ । काठमाडौंमा यसैत खुल्ला स्थान, पार्क, पोखरी जस्ता सार्वजनिक हितका स्थलहरु अत्यन्तै कम छन् ।
भएका पनि कतै मासिइसकेको छ त, कतै संरक्षण गर्नुपर्ने निकायकै लापरवाहीको शिकार भइरहेका छन् ।
यसैमध्येको पछिल्लो उदाहरण हो, काठमाडौं महानगरपालिका १ मा अवस्थित कमलपोखरी ।
यो पोखरी रानीपोखरीकै नियति भोग्दैछ । तर रानीपोखरी संरक्षणविद, स्थानीय सरोकारवाला र केही हदसम्म राजनीतिक दलका संरक्षणवादी नेता कार्यकर्ताको निरन्तरको हस्तक्षेपपछि आफ्नो गौरवमा पुनरजीवित भएको छ ।
पूर्खाले निर्माण गरेको प्राचीन धरोहर रानीपोखरी आज गर्वले उभिरहँदा के कमलपोखरी आफ्नो स्वरुपमा फर्कन सक्ला ? निकै संशय र अड्चनहरु देखा परेका छन् ।
जसमा मूल अवरोधक संरक्षण गर्नुपर्ने निकाय, काठमाडौं महानगरपालिका नै उभिएपछि यस्तो स्थिति बनेको हो ।
आफ्नो क्षेत्रको राष्ट्रिय सम्पत्तिको देखभालको दायित्व भएको निकाय महानगरपालिकाको नेतृत्व नै कमलपोखरीमा कंक्रिटको कमल फुलाउन उद्दत भएपछि अरुले आशाभन्दा आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको हो ।

अझ आश्चर्य त, काठमाडौंको मुटुमा रहेको भित्री शहरवासीका लागि अक्सिजन सञ्चार गर्न सक्ने स्थल कमलपोखरीको जग्गा अतिक्रमित गरेर आधा पनि बाँकी राखिएको छैन भन्ने सुन्दा जोकसैको आक्रोशले रौं ठाडो हुन्छ ।
ऐतिहासिक सिमसार कमलपोखरी २२ रोपनी क्षेत्रफलमा खुम्च्याइएको छ । यसरी अतिक्रमण गर्नेमा व्यक्ति मात्र छैनन्, जहाँ सरकारी निकायहरु नै लागि परेका छन् ।
त्यसमाथि पनि कंक्रिट संरचनाले घेरेर नक्कली कमलको फूल फुलाउन लागेपछि अभियन्ताहरु र स्थानीय विरोधमा दौडधूप गरिरहेका छन् ।

चासो पनि राष्ट्रियस्तरमै बढेको छ ।
यस विषयलाई ईमेज च्यानलले उठाएसँगै लगातार यसबारेमा विज्ञहरुसँग थप प्रमाण र आधारहरुको खोजी गरिरहेको छ ।
जसबाट पछिल्लो तथ्य खुलेको हो । अर्थात्, कमलपोखरीको मूल जमीन ४८ रोपनी रहेको फेला तथ्य फेला परेको छ । फिल्डमा त अझ अरु दुई रोपनी बढी हुनुपर्ने जानकारहरु बताउँछन् ।
राष्ट्रिय धरोहर, धार्मिक, साँस्कृतिक, पर्यावरणीय र जैविक रुपमा महत्वपूर्ण रहेको ऐतिहासिक सिमसार कमलपोखरीको पहिलो नापी वि.सं २००१ सालमा गरिएको थियो ।
२३४ नं मौजा कमल पोखरी भनेर मौजाको नाम र संकेत नम्बर समेत राखिएको छ । जसले ओगटेको क्षेत्रफल ४८ रोपनी भएको लिखित नै फेला परेको छ । जसअनुसार पोखरीको पानीको भाग मात्र ४२ रोपनीभन्दा बढी रहेको विज्ञहरु बताउँछन् ।
पोखरीको पश्चिमी डिल पर्ती एक रोपनी, उतरी डिल पर्ती दुई रोपनीभन्दा बढी, पूर्वी र दक्षिण डिल दुई रोपनीभन्दा बढी र पश्चिम दक्षिण डिल पर्ती बाटो ७ आना रहेको नापी–नक्शामा देखिन्छ ।
तत्कालीन नापी अधिकृत राजेन्द्रप्रसाद मराठाले २००१ सालको नापी अनुसार प्राप्त प्रमाणको आधारमा पोखरीको क्षेत्रफल करिब ४८ देखि ५० रोपनीको बीचमा रहेको र ४५÷४६ रोपनी त पानीको भागमात्र रहेको जानकारी दिनुभयो ।

तर वि.सं २०३३÷०३४ सालमा नापी हुँदा पोखरीको कित्ता नं ८९ मा ३० रोपनीभन्दा बढी क्षेत्रफल कायम गरिएको थियो ।
त्यसबेला पोखरीको जग्गा अतिक्रमणको परेको गुनासो आएपछि नापी विभागले नापजाँच गर्दा करिब २० रोपनी जग्गा विद्यालय, प्रहरी चौकी तथा अरु केही व्यक्तिले अतिक्रमण गरेको पाएको थियो । विभागले अतिक्रमित क्षेत्र फिर्ता गर्ने सुझाव र सिफारिस पनि गरेको थियो । तर फिर्ता हुनुको सट्टा झन् अतिक्रमणमा पर्यो ।
मराठाका अनुसार कि.नं १३४०, १८५०, १८५१, ४०१, ४०४, ४०४१ र ३६८ लगायतको अन्य जग्गा र पश्चिमतर्फको बाटो मिचिएको छ ।
वि.स. २०४९ सालमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धि उच्चस्तरीय आयोगले समेत पोखरीको जग्गा मिचिएको प्रतिवेदन दिएको थियो ।
हाल पोखरी २२ रोपनी रहेकोमा पानीको भाग २० रोपनीभन्दा कम रहेको मराठाको ठम्याइ छ ।
उता, वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ अतिक्रमणमा परेको पोखरीको भूभाग फिर्ता लिएर मात्र पोखरीको प्राकृतिक रुपमा नै पुननिर्माण गरिनुपर्ने बताउनुहुन्छ ।

अतिक्रमणमा परेको क्षेत्र त्यसै फिर्ता नआउने भएकाले सरकारले दह्रो इच्छाशक्ति राखेर अधिकार सम्पन्न आयोग गठन गरी जग्गा फिर्ता लिन सक्नु पर्ने उहाँको सुझाव छ ।
गुथि संस्थानका अनुसार कमल पोखरी कँडेलचोक भगवती गुथिको हो ।
यसले पनि देखाउँछ कि, हाम्रा पूर्वजहरुले भावी पुस्ताका लागि छाडेर गएका यस्ता धरोहरहरु हाम्रो पुस्ताले संरक्षण नगर्ने र मिचेरै खाइरहँदा मूकदर्शक बसिरहने हो भने भावी पुस्ताले हामीलाई धिक्कार्नेबाहेक केही गर्ने छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्