
काठमाडौं, माघ २२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ ।
पाठ्क्रम विकास परिषदले गणित विषयलाई अनिवार्य गरेको छ ।
सर्वोच्च अदालतको निर्देशात्मक आदेश र गणित विषयको अध्ययन कार्यदलको सिफारिस समेतका आधारमा कक्षा ११ र १२ मा हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय वा गणित पढ्न पाउने व्यवस्था गरेको हो ।
योसँगै पाठ्यक्रम विकास केन्द्रले पाठ्क्रमको सबै समस्या समाधान भएको जनाएको छ ।
अनिवार्य रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित अध्ययन गर्न सक्ने व्यवस्था गरेको छ ।
परिषदले बालविकास तथा शिक्षाको पाठ्यव्रmम २०७७ लाई भाषिक तथा प्राविधिक सम्पादन गर्ने गरी स्वीकृत गरेको छ ।
त्यस्तै शैक्षिक वर्ष २०७६ मा परीक्षणका लागि स्वीकृत भएका कक्षा ६ देखि ८ सम्मको पाठ्यव्रmम शैक्षिक वर्ष २०७७ मा २८ ओटा विद्यालयमा परीक्षण प्रयोग र सम्बन्धित सरोकारवालाहरूबाट प्राप्त सुझाव समेतलाई समेटेर पाठ्यक्रमलाई स्वीकृत गरी शैक्षिक वर्ष २०७८ बाट देशभर लागु गर्ने निर्णय गरेको छ ।
त्यस्तै कक्षा ९ र १० को माध्यमिक शिक्षा अन्तर्गत अनिवार्य नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन विषयको पाठ्यक्रम प्रारुप समेत स्वीकृत गरेको छ ।
कक्षा ४/५ मा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषय र कक्षा ६ देखि ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा नाम मात्र रहेकाले अब विषयको नाम स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कायम गर्ने निर्णय परिषदले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्