
काठमाडौं, माघ २५ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तिनै सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका २०२० सार्वजनिकिकरण कार्यक्रममा उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ, प्रदेश र स्थानीय तिनै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताउनुभएको हो ।
दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ सरकारले नीति दिने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानिय सरकारले कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ ।
स्थानिय सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उहाँले बताउनुभयो ।
उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचक माथि गइसकेकोले देशलाई अल्पविकसित देशबाट विकासशील देश तर्फ जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको तथा प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पताको स्थिति र पाँच वर्ष मुनिका बालबालिकाहरुको रक्तअल्पताको स्थिति लक्ष्य अनुसारको प्रगति हासिल हुन नसकेको बताउनुभयो ।
सचिव भण्डारीले दिगो बिकास लक्ष्य प्राप्तिको कुरा जताततै दस्तावेजीकरण गरिएको भएपनि काम गर्ने शिलशिलामा कठिनाईहरु देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्