१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूतपूर्व सैनिकको जीवनलाई सहज बनाउने कार्यक्रमलाई प्राथमिकता


0
Shares

पोखरा, माघ २८ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक कल्याणकारी बोर्डले भूतपूर्व सैनिकको सेवा निवृत्त जीवनलाई सहज बनाउने किसीमका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भएको छ ।

पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति थापाले भूतपूर्व सैनिकको सम्मानपूर्ण जीवनयापनका लागि ध्यान दिइएको बताउनुभयो ।

सम्मेलनले भूतपूर्व तथा बहालवाला सैनिकबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

सम्मेलनमा प्रधानसेनापति थापाले बाग्लुङ निवासी ९६ बर्षीय भूतपूर्व सिपाही मनिराज थापा र तत्कालिन श्री भैरवप्रसाद गुल्मबाट अबकासप्राप्त सुवेदार हर्कबहादुर थापा मगरको श्रीमती ९९ वर्षीय नरकुमारी थापा मगरलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ निवासी पूर्व जमदार बोधराज शर्माकी श्रीमती स्मृति शर्मा वाग्ले र गोरखा निवासी भूतपूर्व हवल्दार चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यस्तै चार वा सोभन्दा बढी सन्ततीलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना आमाबुबालाई सम्मान गरिएको थियो ।

सम्मेलनकै अवसरमा फरक क्षमता भएका तथा असक्तहरूलाई ह्विल चियर, बैशाखी र आर्थिक सहयोग तथा लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीलाई चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी अधिकृत पूर्व रथी गौरव तण्डुल, पूर्व रथी अमर पन्त, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति पूर्व सहायक रथी केशरबहादुर भण्डारी र बलाधिकृत रथी प्रभुराम शर्माले नेपाली सेनाको इतिहासमा भूतपूर्व सैनिकले खेलेको भूमिकाको चर्चा गर्नुभयो ।