१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष


0
Shares

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ ।

आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता लीलामणि पोखरेल भन्नुभयो, ‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ? नेकपासँग ६४ प्रतिशत मत छ । त्यसको विवाद हल नगरी निर्वाचन अघि बढ्न सक्दैन ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई कित्तामा विभाजित भएको छ । एउटा नेकपाको नेतृत्व प्रधानमन्त्री ओली तथा अर्को कित्ताको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको छ ।

दुबै पक्षले पार्टीको समानान्तर गतिविधि चलाइरहे पनि फुटको जिम्मा लिन भने डराइरहेका छन् । दुबैले आफूलाई आधिकारिक दावी गरे पनि कुनचाहिँ आधिकारिक नेकपा हो भन्ने निर्णय निर्वाचन आयोगले दिन सकेको छैन ।

छलफलमा दाहाल पक्षले आयोग सरकारको लाचार छायाँ नबनोस् भन्दै सचेत गराएको थियो । पोखरेलले आयोगले दलसम्बन्धी विवादबारे परेको विषयमा मैले निरुपण गर्न सकिनँ, मैले गरिन भन्न नमिल्ने बताउनुभयो ।

दुबै पक्षका अध्यक्ष नै आयोग पुगेर आफ्नो पक्ष नै आधिकारिक भएको दावी गरे पनि आयोगले विवादमा कुनै टुंगो गरेको छैन ।