
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बनमारा लाएर सुन्तला नफलेझै कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित नहुने बुझ्न आम मतदातासँग आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा पार्टीले आह्वान गरेको विरोध कार्यक्रमलाई काठमाडौंको वसन्तपुरमा सम्बोधन गर्दै नेता केसीले प्रधानमन्त्री ओलीले संविधानलाई भीरबाट खसालेको टिप्पणी गर्नुभयो ।
हिटलरले संसदमा आगो लगाएर अधिनायकवाद शुरु गरेको स्मरण गर्दै नेता केसीले नेपालमा संविधानले नै नदिएको संसद विघटन गरेर सर्वसत्तावादको थालनी भएको दाबी गर्नुभयो ।
सर्वसत्तावादको सपना बाकेर आएकाहरुबाट लोकतन्त्रको रक्षक हुन सक्दैन भन्दै केसीले भन्नुभयो, ‘बनमाराको झार रोपेर सुन्तला फलेन भनेर हुँदैन । एकदलीय सर्वसत्तावादी कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र कसरी जोगिन्छ । कम्युनिष्टहरुले अभियान नै लोकतन्त्रको अवयवहरुलाई ध्वस्त बनाउने हो ।’
लोकतन्त्रमाथिको प्रहार र संविधानमाथिको क्षतविक्षतीकरणविरुद्ध कांग्रेस निर्भिक भएर उभिनुपर्ने भन्दै नेता केसीले कांग्रेसको यो अभियान विधिको शासन, संविधानवादको पक्षमा भएको प्रष्ट्याउनुभयो ।
तीन तीन ठूला संघर्ष गर्दै राणा, राजाकाविरुद्ध लडेको कांग्रेसले एक पटक फेरि एकदलीय शासन पद्धती पक्षधर कम्युनिष्टविरुद्ध उभिनु परेको उहाँको भनाइ थियो ।
तीन वर्षे ओली शासनमा मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको, बलात्कार जस्ता जघन्य अपराध आमप्रवृत्तिका रुपमा देखिन थालेको, दण्डहीनताको जगजगी भएको पनि उहाँले आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले संवैधानिक संस्थाहरुलाई लाचार छायाँ बनाएको भन्दै उहाँले सामाजिक सञ्जाललगायतको सञ्चार माध्यममाथि अंकुश लगाउने सरकारको योजनाप्रति आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्