१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीय सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावारको उपयोगमा समस्या


0
Shares

काठमाडौं, फागुन ९ । संघीय सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावारको उपयोगमा समस्या देखिएको छ ।

गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेपनि सामुदायिक वन समूहको वन पैदावार सदुपयोगबारे स्पष्ट निर्णय नगर्दा वन व्यवस्थापनका क्रममा कटान भएका काठको सदुपयोगमा समस्या परेको छ ।

वैज्ञानिक वन कार्यक्रमबाहेकका वन क्षेत्रमा सालका काठ दाउराको कटान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट प्रक्रिया पुर्‍याएर खुलाउने निर्णय भएको थियो ।

तर यसबारे डिभिजन वन कार्यालयहरुमा स्पष्ट निर्देशन नआउँदा देशभर काठ संकलन र सदुपयोगका लागि अनुमति रोकिएको छ ।

वन सदुपयोगका लागि अनुमति दिन माथिल्लो निकायसंग स्पष्ट निर्देशन माग गरेपनि अझै निर्णय नआएको वन कर्मचारीको भनाई छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वनमा काठ कुहिने तर उपभोक्ताले काठको अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेको छ ।

अहिले सुख्खायाम शुरु भईसकेकोले वन क्षेत्र डढेलोको जोखिममा रहेको छ ।

यस्तो अवस्थामा वनभित्र रहेका काठ सदुपयोग नहुने हो भने आगजनीको चपेटामा पर्न सक्ने र काष्ठ पैदावारको अभाव झन बढ्ने सरोकारवाहरुको चिन्ता छ ।