२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभा पुनःस्थापित भए प्रचण्ड र माधव प्रधानमन्त्री बन्नै सक्दैन, खोज्दै मैतिर आइपुग्नुपर्छः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा पुनःस्थापित हुनै नसक्ने जिकीर गर्दै कसैगरी भएछ भने पनि प्रचण्ड र माधव प्रधानमन्त्री बन्नै नपाउने दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा रहेको भन्दै भन्नुभयो, ‘कथंकदाचित पुनःस्थापना भयो भने के हुन्छ त भन्दा, प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ । कहिले यसो उत्तरतिर लाग्नुहुन्छ, कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् न, मानिदिनुस् न है भन्दै ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनःस्थापित हुँदा पनि प्रचण्ड र माधव नेपालको प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको दावी गर्दै भन्नुभयो, ‘एक प्रतिशत मात्रै होइन त्यसभन्दा तल, तल, तल कति हुन्छ, त्यति पनि छैन । उहाँहरुले लडाइँ जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने हो । खोज्दै हिँडेर अन्तिममा मकहाँ नै आइपुग्न बेर छैन ।’

ओलीले प्रतिनिधि सभा पुनःस्थापित गरेर अदालतले देशलाई अस्थिरतातिर जान नदिने पनि बताउनुभयो ।

बहुमतको पार्टी फुटाएर प्रधानमन्त्री खोज्न हिंड्ने दाहाल–नेपाललाई ओलीले भन्नुभयो, ‘केको लडाइँ लड्दै हुनुहुन्छ उहाँहरु ? बहुमतको पार्टी फुटाउने, आफ्नो प्रधानमन्त्री हटाउने, अनि प्रधानमन्त्री खोज्न हिँड्ने । त्यही होइन उहाँहरुको प्रयास ? त्यस्तो अस्थिरतातर्फ अदालतले जान दिन्छ होला भनेर म कसरी विश्वास गरौं ?’