१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै नेतालाई पार्टीमा फर्केर जिम्मेवारी लिन दाहाल-नेपाल समूहको आग्रह


0
Shares

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ ।

बुधबार बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनैपनि कारणले फुटवादी गुटमा लागेका सबै नेता कार्यकर्तालाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आव्हान गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष समेत निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधान अनुसार अगाडि बढ्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहर गरेको छ ।

अदालतको निर्णयले प्रतिनिधि सभा पुनस्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको बैठकको निष्कर्ष छ ।

सर्वोच्चको फैसलाले देशलाई प्रतिगामी षड्यन्त्रको ठूलो चक्रव्यूहबाट जोगाएको ठहर गरेको छ ।