
काठमाडौं, फागुन १३ । सरकारले लगातार दोस्रो दिन पनि कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या मिलान गरेको छ ।
बुधबार एकैदिन ६ सय १८ जना मृतक थपेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार फेरि ८२ जना थपेको छ ।
योसँगै अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ सय ६७ पुगेको छ ।
यसअघि नेपाली सेनाले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गरेको तथ्याङ्क र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राख्ने तथ्याङ्कमा फरक आएकामा मन्त्रालयले समिति गठन गरी छानबिनपछि नयाँ तथ्याङ्क सार्वजनिक गरेको जनाएको छ ।
तर एकैपटक मृतकको संख्या मिलान नगरी पटक पटक गर्नुले भने प्रश्नचिन्ह खडा भएको छ ।
बिहीबार तीन हजार ४ सय ११ जनाको पीसीआर परीक्षणबाट एक सय १२ जना संक्रमित थपिएका छन् ।
८४ जना संक्रमणमुक्त हुँदा एक जना मृतक थपिएका छन् ।
योसँगै हालसम्म संक्रमित हुनेको संख्या मन्त्रालयले २ लाख ७३ हजार ८ सय ७२ पुर्याएको छ ।
त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुर्याइएको छ ।
हाल सक्रिय संक्रमित घटाएर ८ सय ८२ पुर्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्