
काठमाडौं, फागुन २७ । विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषावकरले अर्धशतकीय इनिङ्स खेले ।
शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे ।
यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए ।
पवन सर्राफ शून्यमा आउट भए । काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए ।
यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए ।
विक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए ।
एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले तीन तीन विकेट लिए ।
जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।
एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
पुलिसले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो ।
फाइनल खेल शनिवार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्