
काठमाडौं, फागुन २७ । पछिल्लो समय सुनचाँदीको कारोबारमा सुधार आउँदै गएको छ ।
तर कच्चा सुनको चरम अभावका कारण कारोबार गर्न नसकिएको व्यवसायीहरुले बताउँदै आएका छन् ।
माग अनुसार कारोबार गर्न नसक्दा आफुहरु अप्ठेरोमा परेको उनीहरुले गुनासो गर्दै आएका छन् ।
सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको व्यवसायीहरुको भनाइ छ ।
अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेको बताइएको छ ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।
लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको व्यवसायीको भनाइ छ ।
व्यवसायीहरुले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको व्यवसायीहरुको भनाइ छ ।
यसक्रममा उनिहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले हालै अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग पनि सुनको आपूर्ति बढाउन आग्रह गरेका छन् ।
सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको उनीहरुको दाबी छ ।
अर्थमन्त्री पौडेलले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको र केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताउनुभएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्