६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्राउन लागेकोमा आपत्ति


0
Shares

काठमाडौं, फागुन २८ । सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्राउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्राउन सरकारले अध्यादेशको साहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद सोमप्रसाद पाण्डेले यस अघि नै कृषिमा विदेशी लगानी भित्राउनुहुन्न भनेर विभागिय मन्त्रीसहित बसेको बैठकले निर्णय गरिएको भएपनि सरकारले अध्यादेशमार्फत विदेशी लगानी भित्राउन लागेको बताउनुभयो ।

सानो प्वालबाट ठुलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उहाँले कृषिमा विदेशी लगानी स्वीकार्न नसकिने बताउनुभयो ।

सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउन नहुने बताउनुभयो ।

कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उहाँको भनाई छ । लगानी भित्रिदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापार घाटा पनि बढ्ने उहाँको भनाई छ ।

सांसद प्रकाश रसाईलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्ने बताउनुभयो ।

कृषिमा विदेशी लगानी नभित्राउने भनिएको भएपनि सरकारले किन ल्याउने प्रयास गरेको हो यस सम्बन्धमा विभागिय मन्त्री र सचिवहरुसँगको छलफल आवश्यक रहेको उहाँको भनाई छ ।

सांसद अमृता अग्रहरीले साना उद्योग सञ्चालनमा देश र उद्योगीहरु सक्षम रहेको बताउनुभयो ।

जनताको मर्म विपरित कृषिमा वैदेशिक लगानी भित्राउन लागिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो ।

यस्तै, सांसद बृजेश गुप्ताले भने विदेशी लगानीलाई निषेध गरेर देश अगाडी बढ्न नसक्ने धारणा राख्नुभयो ।

जति प्रतिस्पर्धा बढ्छ उति जनतालाई फाइदा हुने भन्दै उहाँले कृषिमा विदेशी लगानीलाई मापदण्डको आधारमा भित्राउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले विदेशी लगानी सँगसँगै प्रविधी, प्राविधिक, मल, बिउबिजन पनि सँगै भित्रिने भएकाले लाखौँ कृषकहरुले कृषि पेशाबाट हात धुनुपर्ने अवस्था आउने बताउनुभयो ।

विदेशीलाई जमिन दिदा खेतीयोग्य भुमि कृषि बाहेकको प्रयोजनको लागि पनि प्रयोग हुनसक्ने उहाँको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले नेपालमा लगानीको कमी नभएको बताउनुभयो ।

नेपाल डेरी एशोसिएसनका महासचिव प्रलाद दाहालले स्वदेशी कम्पनीहरुलाई लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

प्रविधिको प्रयोग गरी नेपाली लगानीमै कृषि गर्नुपर्ने उहाँको भनाई छ ।

कृषिमा आत्मनिर्भरताको बाटोमा हिड्नुपर्ने उहाँको भनाई छ ।