
काठमाडौं, चैत १ । सुनचाँदी व्यवसायीहरुले सुनको आपूर्ति तत्काल बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले आइतबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग भेट गरी सुनको आपूर्तिमा लामो समय देखि अव्यावहारिक किसिमले आपूर्तिमा अत्याधिक कटौती गरिएकाले समस्या भएको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।
कोटा कटौतिले मुलुकभर सुनको चरम अभाव सृजना भएको र यस्तो अवस्थामा अवैध कारोवारले बजार र समग्र गहना व्यवसायीलाई नै प्रतिकूल असर परेको तर्फ उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
महासंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालसमक्ष पनि सुनको चरम अभावले सृजना गरेको असज परिस्थिति बारे अवगत गराउँदै विभिन्न माग राखेका छन् ।
साविकमा दैनिक २० र २५ के.जी सुन विक्री वितरण हुँदै आएकोमा “कोभिड–१९” को संक्रमण पश्चात २०७७ चैतको पहिलो हप्ता देखि नै दैनिक १० के.जी. मा झारिएको तर हाल अर्थतन्त्रका सबै क्षेत्रहरु पूर्ववत रुपमा सामान्य अवस्था आइसकेकोले सुनको दैनिक कोटा पनि पूर्व स्थितिमा लैजानु अति जरुरी भएको महास.घको भनाइ छ ।
वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तिमा पनि ३० के.जी बनाइनुपर्ने पनि उसको माग छ ।
सुनको विक्री वितरणलाई विकेन्द्रित गरी राष्ट्र बैंकले जारी गरेको “सुन आयात तथा विक्री वितरण कार्यविधि – २०६८” ले तोके अनुसार काठमाडौंको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर समेत अन्य आठ वटा स्थानहरुबाट सुनको विक्री वितरण हुनुपर्नेमा पनि महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्