१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक विकासका लागि व्यावसायिक क्षेत्रको विशेष भूमिका : राष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं, चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको उल्लेख गर्नुभयो ।

औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताउनुभयो ।

चेम्बरले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन गर्नुभयो ।

स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चेम्बरले ‘नेपाल चेम्बर अफ कमर्स ः स्मृति ग्रन्थ (२००७—२०७७)’ प्रकाशित गरेको हो ।

स्मृति ग्रन्थमा नेपाल चेम्बर अफ कमर्सको विकासक्रम, नेपालको व्यावसायिक इतिहास, पूर्व अध्यक्षहरूको परिचय, चेम्बरका ऐतिहासिक तस्बिर लगायतका सामग्री समेटिएका छन् ।

राष्ट्रपति भण्डारीले चेम्बर अध्यक्ष भई संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षहरूलाई सम्मान पनि गर्नुभयो ।