२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भारतले खोप नपठाउँदा दोस्रो चरणको अभियान प्रभावित


0
Shares

काठमाडौं, चैत ८ । खरिद गरिएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप भारत सरकारले नपठाएका कारण खोप अभियान प्रभावित भएको छ ।

सरकारले भारतसँग खरिद गरेको २० लाख डोज खोप मध्ये १० लाख खोप मात्र प्राप्त गरेको छ ।

बाँकी १० लाख डोज खोप समयमा नै नआउँदा नेपालमा चलेको दोस्रो चरणको खोप अभियान प्रभावित भएको हो ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन विभागका प्रमुख डा. भिमसिंह तिङ्करीले भारतले १० लाख डोज खोप कहिले पठाउने भनेर आधिकारीक पत्र नपठाएको बताउनुभयो ।

हाल झन्डै ७ लाख डोज खोप स्टक रहेको भन्दै डा. तिङ्करीले दोस्रो चरणको खोप अभियान सुरु गराउन अन्यौलता कायम नै रहेको बताउनुभयो ।

सरकारले भारतसँग खरिद गरेको २० लाख डोज खोपको ८० प्रतिशत रकम भुक्तानी गरिसकेको छ ।

नेपालले हालसम्म अनुदान र खरिदबाट २३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त गरेको थियो ।

यसैबीच नेपालमा कोरोनाविरुद्धको खोपको अभाव भइरहँदा चीन सरकारले अनुदान सहयोगमा नेपाललाई दिएको कोरोनाविरुद्धको खोप भने उतै थन्किएको छ ।

चीन सरकारले चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित ८ लाख डोज खोप अनुदान दिने घोषणा गरेपनि नेपालकै खर्चमा खोप ल्याउनुपर्ने भएकाले खोप बेइजिङमै थन्किएको हो ।

यता, खोप अभाव हुँदा नेपालमा कोरोनाविरुद्धको खोप अभियान नै स्थगित गर्नु परेको छ ।