
काठमाडौं, चैत १० । प्रतिनिधि सभा बैठकमा भारतले नेपालसँगको सीमा क्षेत्रमा जग्गा मिचेको बारेमा प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराइएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपाली सीमामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा नेपाल सरकार किन मौन छ भन्दै प्रश्न गर्नुभएको हो ।
नेता बडूले सीमा क्षेत्रमा निर्माणाधीन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर रहेको भन्दै के मौन सहमति दिएको हो ? भन्नुभयो ।
दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका वडा नम्बर ५ को पारीपट्टी भारत सरकारले तीन महिना यता नेपाल सरकारको सहमति र जानकारी बिनै एकतर्फी रुपमा नेपाली भूमि मिच्दै तटबन्ध बनाइरहेको बडूको भनाइ छ ।
सिडिओले भारतीय पक्षलाई गरेको पत्राचारको सुनुवाई नभएको भन्दै उहाँले दार्चुलाका जनता, पार्टीका नेता कार्यकर्ताले पटक पटक गृहमन्त्रालयमा ताकेता गर्दा पनि सुनुवाई नभएको उल्लेख गर्नुभयो ।
बडूले प्रश्न गर्नुभयो, ‘यतिबेला सरकार के गरिरहेको छ ? सिडिओसाबलाई सोध्दा नेपाल सरकार के गरिरहेको छ हामीले ढुङ्गा हानेर त हुँदैन भन्ने जवाफ दिनुहुन्छ । दार्चुलाकै गणेश ठगुन्नमा मन्त्री हुनुहुन्छ । उहाँहरुले पनि केही सुन्नु भएको छैन । किन भनिरहनुभएको छैन । किन सरकार मौन छ ? परराष्ट्र मन्त्रालयले कुनै जानकारी छैन भनेर अनभिज्ञता जनाइरहेको छ । के हुँदैछ ? कसको सेवा हुँदैछ यो ? गाउँका गाउँ सखाप हुँदा पनि हामी बोल्दैनौं किन ?’
आफूलाई राष्ट्रवादी भन्ने सरकारको व्यवहार के यस्तै हो ? भन्दै बडूले भन्नुभयो, ‘आफ्नो सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा पनि बोल्न नसक्ने यो राष्ट्रवादी सरकार आफूलाई भन्ने तर, के हो यो राष्ट्रवादी व्यवहारमा हो कि भाष्यमा मात्रै हो ?’
प्रतिक्रिया दिनुहोस्