१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ का एमाले सांसदलाई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन एक साताको सीमा


0
Shares

विराटनगर चैत ११ । प्रदेश १ को सत्तारुढ नेकपा एमाले संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुका साथै संसदीय दलको विधान पनि पारित गरेको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक भएको दलको बैठकले दलको नेताको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरेको छ ।

बैठकमा माधव नेपाल पक्षधरका सांसद पनि सहभागि भएका थिए । उक्त समूहका तर्फबाट सांसद तुलसी न्यौपाने र लीलाबल्लभ अधिकारी बैठकमा सहभागि भई अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने जानकारी पनि दिनुभयो ।

एमाले सांसद गोपाल बुढाथोकीका अनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ ।

बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकका साथै काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलाई मनोनयन गरेको छ ।

बैठकमा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङ पनि उपस्थित हुनुहुन्थ्यो । प्रदेश १ मा एमालेका मात्रै ५१ सांसद रहेका छन् ।