२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


ढोरपाटनमा दोस्रो सिजनको सिकार शुरु, १० नाउर र ६ झारलका लागि अनुमति


0
Shares

बागलुङ, चैत १२ । ढोरपाटन सिकार आरक्षमा दोस्रो सिजनको सिकार शुरु हुने भएको छ ।

कोरोनाका कारण गत वर्षबाट सिकार रोकिएको थियो ।

हरेक वर्ष पहिलो कात्तिक र चैतमा दोस्रो गरी दुई सिजनमा सिकार हुँदै आएको छ ।

यस वर्षको दोस्रो सिजनमा ८ वटा नाउर र ४ झारलको सिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

यस वर्षको दोस्रो सिजनका लागि अमेरिकाका १, स्पेनका ३, रसियाका १, युक्रेनका १ र फ्रान्सका २ गरी ८ जना विदेशी सिकारीले शिकार गर्ने छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र ६ झारलको लागि खुलाएको बोलपत्र आह्वानमा सोचेभन्दा थोरै शिकारी आएको आरक्ष कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण यस वर्ष थोरै सिकारी नआउने भएको अनुमान गरिएको छ ।

आएका शिकारीलाई आरक्ष कार्यालयले ब्लक अनुसारको क्षेत्र तोकेर पठाउने सिकार आरक्ष कार्यालय ढोरपाटनले जनाएको छ ।

आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले ३ नाउर र १ झारल, नेपाल ट्राभल्स एक्सपिडिसन प्रालिले ४ नाउर र २ झारल, हिमालयन सफारिजले १ झारल र १ नाउर शिकार गर्न पाउने अनुमति लिएका हुन् ।

कोरोनाले शिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ११ अनुसार कुनै पनि व्यक्तिले सिकार अनुमतिपत्र लिएर सिकार खेल्न पाउने व्यवस्था छ ।

ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् ।

अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

यसैका लागि उनीहरु ढोरपाटनमा सहासिक सिकार खेल्न आउने गरेको पाइएको छ ।

विभागले तोके अनुसारको राजस्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्ससमेत भएको व्यक्तिले मात्र शिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ ।
नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भए पनि अहिलेसम्म विदेशी सिकारीले मात्रै अनुमति लिएर सिकार खेल्दै आएका छन् ।