१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


टीकापुर घटना बारे वार्तामा आउन गृहमन्त्री थापाको आग्रह


0
Shares

काठमाडौं, चैत १२ । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ ।

थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा केही दिन देखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरुलाई बिहीबार भेट्न पुग्नुभएका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।

त्यसका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गर्नुभयो ।

उहाँले टिकापुर घटनाका कतिपय विषयहरु राजनीतिक रुपले हल गर्न सकिने र कतिपय कानूनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने बताउनुभयो ।

पूर्व सांसद रुकमणी चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफै आएर मागहरुको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताउनुभयो ।

थारु अगुवाहरुले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।