
काठमाडौं, चैत १६ । केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु चार दिन बन्द हुने भएका छन् ।
शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै मंगलबारदेखि शुक्रबारसम्म सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
अब विद्यालय तथा कलेजहरु आगामी आइतबार मात्रै खुल्ने छन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।
यद्यपी पूर्व निर्धारित परीक्षा तालिका भएका शिक्षण संस्थाहरुले भने स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा सञ्चालन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अहिलेको विषम परिस्थितिमा बालबालिकालाई घरमै सुरक्षित राख्न समेत आग्रह गरेको छ ।
केही दिन यता उपत्यकासहित देशैभर बाक्लो तुँवालो लागेकाले वायु प्रदुषण ह्वात्तै बढेको छ ।
लगातारको तुँवालोले घाम लाग्न नपाउँदा तापक्रम पनि निकै नै घटेको छ ।
लामो समयदेखि पानी नपरेर मौसम सुख्खा भइरहेको बेला देशका विभिन्न भागमा लागेको डढेलोले आकाश ढाक्दा वायु प्रदुषण बढेको वातावरणविद्हरुले बताएका छन् ।
ठूलो हावाहुरी वा वर्षा नभएसम्म अहिलेको अवस्थामा सुधार आउन मुश्किल हुने पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्