
काठमाडौं, चैत १७ । नेकपा एमालेको असन्तुष्ट पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथिको कारबाही अस्वीकार्य भएको बताएको छ ।
नेपाल र रावललाई पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्वन गरेको विषयमा छलफल गर्न बसेको सो समूहको वैठकले कारबाही अस्वीकार्य भएको भन्दै अध्यक्ष केपी ओलीले राज्य सत्ताको दुरुपयोग गरी तानाशाही लाद्न खोजेको आरोप लगाएको छ ।
कलंकीस्थित एक पार्टी प्यालेसमा भएको नेपाल समूहमा रहेका ११ जना स्थायी समिति सदस्यको वैठकले नेपाल र रावलमाथिको कारबाही पार्टी विधान विपरित भएको जिकीर समेत गरेको छ ।
वैठकपछि ११ जना स्थायी समिति सदस्यहरुले जारी गरेको संयुक्त वक्तब्यमा कारबाहीको कदम पार्टी विधान, पद्धति र मान्यता विपरित भएको भन्दै त्यसको भत्र्सना गरिएको छ ।
अध्यक्ष ओलीले गर्ने कारबाहीलाई एमाले विधानले नचिन्ने भन्दै जस्तोसुकै कारबाही गरे पनि आफूहरुले नमान्ने पनि उनीहरुले बताएका छन् ।
बैठकले अध्यक्ष ओलीको कदमपछि पार्टीमा वहस र छलफलको ढोका बन्द भएकाले निष्कर्ष समेत निकालेको छ ।
तत्काल नयाँ पार्टी गठनको दिशामा नजाने तर देशभर समानान्तर संगठन र कमिटीहरु बनाउने निर्णय भने वैठकले गरेको छ ।
संयुक्त वक्तब्य जारी गर्नेहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराइ र घनश्याम भुसाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्