
काठमाडौं, चैत १८ । भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ ।
बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गर्नुभयो ।
कुल १ हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको २७३ किलोमिटर बुधबार हस्तान्तरण गरिएको छ ।
योसँगै हुलाकी राजमार्गलाई जोडने विरगञ्ज–ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ ।
नेपालको तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अडकिएर बसेको भएपनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङ्गले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखि नेपालीको नारालाई यसप्रकारका भौतिक पूर्वाधारको माध्यमबाट सकार पार्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताउनुभयो ।
भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुनेगरी सहयोग गरिरहेको बताउनुभयो ।
नेपालसँग त रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सँधै सहयोग गरिरहने बताउनुभयो ।
आगामी महिना जनकपुर–जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि बताउनुभयो ।
यस्तै रक्सौल-काठमाडौं रेलमार्गका लागि डिपीआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्