
काठमाडौं, चैत १९ । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेकेदार कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित बालुवा उत्खनन गरेको हो ।
ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता विपरित जमिनको लेबलभन्दा करिब २५÷३० फिट तल गएर बालुवा उत्खनन गरेको हो ।
करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७७ असार १७ गते आगन्जासँग सम्झौता भएको थियो ।
सो सम्झौता अनुसार ठेकेदार कम्पनीले जमिनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माण जन्य सामाग्रीको उत्खनन् र बिक्रिवितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा जिम्मा पाएको थियो ।
तर, नगरपालिकासँग भएको सम्झौता विपरित ठेकेदार कम्पनीले बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् ।
नगरपालिकाले पनि ठेक्दार कम्पनी आगन्जाले यसअघि पनि बारम्बार मापदण्ड विपरित बालुवा उत्खनन् गरि बिक्री वितरण गर्दै आएको स्वीकार गरेको छ ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सिद्धान्त न्यौपानेले एक महिना अघि पनि जिल्ला प्रसासन कार्यलय, भक्तपुर मार्फत उक्त कार्य रोक्न निर्देशन दिएको बताउनुभयो ।
उहाँले सम्झौता भन्दा बाहेक गरिएका कार्य गैरकानूनी भएको भन्दै उक्त कार्य तत्काल रोक लगाउने समेत बताउनुभयो ।
आज बिहान पनि ठेकेदार कम्पनीले करिब १० ठाउँमा जमिन भन्दा २५÷३० फिट मुनी गएर बालुवा उत्खनन् गरिरहेको थियो ।
तर स्थानीयको कडा विरोध पछि तत्काल ती स्थानमा डोजर लगाएर सम्याउने काम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्