
काठमाडौं, चैत २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्बाङले कुनै एउटा सडकको योजना तयार गर्ने मात्र भन्दा पनि समग्रमा सिङ्गो देशको मास्टर प्लान बनाउन निर्देशन दिनुभयो ।
मुआब्जा विवादका कारण विभिन्न आयोजना अवरोध हुने गरेको भन्दै उहाँले त्यसको समाधानका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर जानुपर्ने बताउनुभयो ।
कतिपय आयोजनामा स्रोतको सुनिश्चितता भएपनि आन्तरिक कारणले गर्दा ठेक्का प्रक्रिया नै शुरु गर्न नसकिएको पनि मन्त्री नेम्वाङले बताउनुभयो ।
त्यसैको मारमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग परेको उहाँको भनाई छ । सदीय समितिहरुका कारण आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उहाँको भनाई छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कुनैपनि आयोजनामा ठेक्का भइसकेपछि मन्त्रालय स्तरीय अनुगमन हुने नगरेको बताउनुभयो ।
मन्त्रालयले नियमित अनुगमन गरी काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने हो भने कुनैपनि आयोजनाको काम समयमै सम्पन्न हुने उहाको भनाई छ ।
बैठकमा विभिन्न आयोजनाहरुको बारेमा नीतिगत सुधार आवस्यक रहेको सम्बन्धमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्