२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मन्त्रीहरुलाई २४ घण्टाभित्र राजीनामा दिन एमाले कर्णाली प्रदेश संसदीय दलको निर्देशन


0
Shares

काठमाडौं, चैत २२ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको छ ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले तीन जना मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन निर्देशन दिएको हो । बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसद पनि सहभागि रहेका थिए ।

२४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति गर्दै तीन मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन निर्देशन दिएको हो ।

बैठकको निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

गत चैत ५ गतेदेखि नै लागु हुने गरी एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । संसदमा २० सिट रहेको एमालेले समर्थन झिक्दा सरकार अल्पमतमा परिसकेको छ ।

तर, यही सरकारमा एमालेको तीन मन्त्री छन् र उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

संसदमा १२ सदस्य रहेको माओवादी केन्द्रका संसदीय दल नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग बहुमत सांसद रहेको भन्दै सदनबाट विश्वासको मत लिन आवश्यक नभएको बताउनुभएको थियो ।

हजो बसेको माओवादी संसदीय दल वैठकले पनि विश्वासको मत तत्काल लिन आवश्यक नरहेको निश्कर्ष निकालेको थियो ।