
काठमाडौं, चैत २२ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिले उजुरीकर्ताहरुलाई बोलाएर छलफल गरेको छ ।
समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुई वटा र नहकुल सुवेदीविरुद्ध पाँच वटा उजुरी परेका छन् ।
समितिको आइतबारको बैठकमा उपस्थित भएका उजुरीकर्ताले नहकुल सुवेदीमाथि योग्यता नपुगेको भन्दै सार्वोच्च अदालतको न्यायाधीश पदका लागि स्वीकृति नगर्न समितिसमक्ष माग गरे ।
सुवेदीमाथि पुनरावेदनको म्याद लगायत अन्तरिम आदेश जारी नगरेको सम्बन्धी र चेक बाउन्स गराएको सम्बन्धमा समेत उजुरी परेको छ ।
सुवेदी विरुद्धका पाँच जना उजुरीकर्ता मध्ये चार जना समितिको बैठकमा उपस्थित भएको र कुमार चुडालका कुनैपनि उजुरीकर्ता उपस्थित नभएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
उहाँले आगामी बैशाख ३ गतेको बैठकमा प्रस्तावित न्यायाधीशहरुलाई बोलाई छलफल गरी सुनुवाइ गरिने बताउनुभयो ।
समितिको बैठकमा उपस्थित भएका उजुरीकर्ताहरुले सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले सिफारिस गरेका न्यायधीश नहकुल सुवेदीको योग्यता नै नपुग्ने देखिएपछि उजुरी गरेको बताएका छन् ।
त्यस्तो सिफारिसलाई संसदीय समितिले अनुमोदन गर्न हुँदैन भनी उजुरी गरेका उनीहरुको भनाइ छ ।
न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई नियुक्ती दिँदा नराम्रो सन्देश गएको र यसबाट न्यायपालिकाले न्याय सम्पादन गर्न नसक्ने उनीहरुको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस्