१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माओवादीद्वारा मन्त्री आङ्बुहाङमाथि कारवाही, प्रदेश १ को सांसद पद र साधारण सदस्यबाट निष्काशित


0
Shares

काठमाडौं, चैत २३ । माओवादी केन्द्रले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङलाई सांसद पद र साधारण सदस्यबाट समेत हटाएको छ ।

आङबोहाङलाई दलको विधान विपरीत गतिविधि गर्दै एमालेमा लागेको भन्दै माओवादी केन्द्रले कारबाही गरेको हो ।

सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ ।

दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बुहाङलाई चैत १७ गते माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर उहाँले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

त्यस्तै माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङसहित लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको छ ।

माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ ।

एमाले प्रवेश गरेका रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो ।

अहिले दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाउनु भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै सांसद वा प्रदेशसभा सदस्यले दल त्याग गरेर अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने व्यवस्था छ ।