
काठमाडौं, चैत २३ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालले बाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका हुन् ।
स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेका छन् ।
जसपाका तीन जनाको हस्ताक्षर भएको र तीन जनाको बाँकी रहेको बताइएको छ ।
६ प्रदेशसभा सदस्य रहेको जसपाको केन्द्रमा देखिएको विवादले प्रदेशमा पनि असर गरेको छ ।
जसपाका ६ मध्ये तीन जनाले हस्ताक्षर गरेका छन् । बाँकी तीन जनाको पनि हस्ताक्षर गराउने प्रयास भइरहेको जसपाकै प्रदेशसभा सदस्यले बताए ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् ।
मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् ।
माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् ।
अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेशसभामा दर्ता गरिसकेको छ ।
एमाले प्रवेश गरेका दुई जना प्रदेशसभा सदस्यलाई कारबाहीको सिफारिस भएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेल पनि सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्