१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लकडाउन हुँदैन : मन्त्री त्रिपाठी


0
Shares

काठमाडौं, चैत २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताउनु भएको हो ।

उहाँले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताउनुभयो ।

लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताउनुभयो ।

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।

यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गर्नुभयो ।

उहाँले छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले आफुहरु त्यसको लागि सतर्क रहेको तर आतंकित हुनुपर्ने अवस्था नरहेको उहाँले दाबी गर्नुभयो ।

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको उहाँले बताउनुभयो ।

चीन सरकारबाट अनुदानमा उपलब्ध खोप लगाउने अभियान बुधबार देखि शुरु हुने पनि उहाँले बताउनुभयो ।