२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दिया निकुञ्जका कर्मचारीमाथि आक्रमण गर्ने नरभक्षी बाघलाई ल्याइयो सदर चिडियाखाना


0
Shares

काठमाडौं, चैत २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुर स्थित सदर चिडियाखानामा ल्याइएको छ ।

निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान ललितपुरको जावलाखेल स्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो ।

आइतबार गैडा गणना गरी फर्कने क्रममा हात्तीलाई घाँस काटदै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारुको सोही बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

निकुञ्जका कर्मचारीलाई मारेपछि उक्त बाघलाई डार्ट हानेर नियन्त्रणमा लिईएको थियो ।

१० वर्षको उक्त भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ललितपुर ल्याइएको हो ।

बर्दियाबाट ल्याइएको बाघलाई चिडियाखानामा राख्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै वनमन्त्री प्रेमबहादुर आलेले जङ्गली जनावरको आक्रमणबाट हुने घटनाहरु दोहोरिन नदिनका लागि राष्ट्रिय निकुञ्जहरुमा पर्खाल लगाउने अथवा विद्युतीय तारबार गर्नुपर्ने बताउनुभयो ।

त्यसका लागि आफूले अर्थमन्त्रीसँग बजेट विनियोजन गर्ने विषयमा कुराकानी गरेको पनि स्पष्ट पार्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र खाता जैविक मार्ग वरपर केही महिना यता सिलसिलाबद्ध रुपमा बाघले मानिसमाथि आक्रमण गरिरहेको छ ।

यसै आर्थिक वर्षमा मात्रै १० जना मानिसको मृत्यु बाघको आक्रमणबाट भएको छ ।