
काठमाडौं, चैत २५ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।
चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो भने थापा कृषीमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भन्नुभएको थियो ।
उहाँले आफुहरुको निर्णयले नभइ केन्द्रको निर्देशनमा राजीनामा बुझाएको बताउनुभयो ।
जवाफमा मुख्यमन्त्री गुरूङले प्रदेश सरकारमा रहँदा राम्रो सहकार्य भएको भन्दै माओवादी पार्टीबाट मन्त्री बनेका चुमान र थापा दुबै जनाले राम्रो काम गरेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री गुरुङ बहुमतमै देखिनुभएको छ । माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन ।
प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन् ।
३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ ।
अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेकै १ जना सांसदबाट खतरा देखिएको छ ।
एमालेभित्रको अन्तरद्वन्द्वमा माधव नेपाल पक्षमा रहनुभएका सांसद इन्द्रलाल सापकोटाले कता समर्थन गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा पर्ने वा नपर्ने निर्धारण गर्छ ।
यता, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने सबै परिस्थितिको सामना गर्न आफु तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्