१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज गैंडा गणना सकिँदै, भोलि संख्या सार्वजनिक गरिने


0
Shares

काठमाडौं, चैत २७ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना शुक्रबार (आज) सकिने भएको छ ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार (भोलि) दिउँसो नतिजा सार्वजनिक गरिने छ ।

बरालका अनुसार ध्रुवे हात्तीले अवरोध पुर्‍याएको क्षेत्रमा आज गणना गरेर शनिबार नतिजा सार्वजनिक गरिने छ ।

गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो ।

तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि विशेष तयारीका साथ आज गणना गरिएको उहाँले जानकारी दिनुभयो ।

हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् ।

गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो ।

गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिन्छ ।

पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६ सय ४५ वटा गैँडा थिए ।