२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चुनावमा केन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन, ओली सरकार नढाले टाउको समातेर रुनुपर्ने पौडेलको भविश्यवाणी


0
Shares

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उहाँले सरकार गठनमा नेतृत्व नलिएको भनेर विरोध गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गर्नुभयो ।

सभापति देउवाले संसदमा आफुहरुको संख्या कम भएकाले सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोख्नुभयो ।

उहाँले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भात्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आह्वान गर्नुभयो ।

आफुले पटक–पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर ओलीसंग मिल्न गएका पुष्पकमल दाहाल प्रचण्डले बल्ल थाहा पाएको भन्दै कटाक्ष गर्नुभयो ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

सरकार निरङ्कुशतातिर अघि बढेकाले विकल्प खोज्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

वितगमा पनि कांग्रेसले सरकार गठनको एउटा अवसर गुमाएको उल्लेख गर्दै नेता पौडेलले अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने बताउनुभयो ।

कांग्रेसले अब पनि चुनाव भनेर बस्न नहुने उहाँको भनाई छ ।

नेता पौडेलले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताउनुभयो ।