१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चको न्यायाधीश बन्न नहकुल सुवेदीको योग्यता नपुगेको बारको ठहर


0
Shares

काठमाडौं, चैत २७ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको ठहर गरेको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनले पत्रकार सम्मेलन गरि न्यायाधीश नियुक्तिको लागि सुवेदीलाई गरिएको सिफारिस संविधानको मर्मविपरित भएको बताएको छ ।

स्नातक उपाधि प्राप्त गरि उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिको लागि योग्य मानिने कानूनी व्यवस्था भएको उल्लेख गर्दै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारको पदमा तत्काल कार्यरत रहेको अवस्थामा सुवेदी उच्च अदालतको मुख्य न्यायाधीशको रुपमा २०७४ पुसमा नियुक्त भएको हुँदा सो अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उहाँको योग्यता नपुग्ने बारको निष्कर्ष छ ।

रजिष्ट्रार, मुख्य रजिष्ट्रार, न्यायापरिषद् सचिव तथा महान्यायाधिवक्ता लगायतका पदलाई भर्‍याङ बनाइ छोटो अवधिमा सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने परम्पराको विकास भएको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जोड दिनुभयो ।

उहाँले सुवेदीको योग्यता नपुगेको भन्दै यसबारे गम्भीर हुन संसदीय सुनुवाई समितिलाई ज्ञापनपत्र समेत बुझाइसकेको जानकारी दिनुभयो ।

न्याय परिषद्ले फागुन २८ गते सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुँडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।

आगामी बैशाख ३ गते संसदीय सुनुवाई समितिले उहाँहरुको सुनुवाइ गर्ने तयारी गरेको छ ।

सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।

यसबारे चैत ३० गते सर्वोच्चले फैसला सुनाउँदै छ ।