१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै राजनीतिक दलले स्थानीय तहमा प्रतिस्पर्धा गर्न पाउनुपर्छ : साझा पार्टी


0
Shares

काठमाडौं, चैत २७ । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानूनमा आवश्यक संशोधन गर्न साना पार्टीहरुले माग गरेका छन् ।

विवेकशील साझा पार्टीको आह्वानमा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा शुक्रबार बसेको १३ वटा दलको बैठकले उक्त माग गरेको हो ।

संघीय संसदमा राष्ट्रिय दलको मान्यताप्राप्त दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान अत्यन्त विभेदकारी र लोकतन्त्रको मर्म विपरीत रहेको भन्दै तत्काल संशोधनको माग बैठकले गरेको हो ।

बैठकमा विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी काँग्रेस लगायत पार्टीका शीर्ष नेतृत्व तथा प्रतिनिधि सहभागी थिए ।

कानूनले तोकेका सबै सर्त र मापदण्ड पुरा गरी निर्वाचन आयोगमा दर्ता भई राजनीतिक मैदानमा रहेका र लोकतान्त्रिक पद्धतिअनुरूप प्रतिस्पर्धामा उत्रन चाहने दलका उम्मेदवारलाई आफ्नै दलको चुनाव चिन्ह नदिई स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गर्न बाध्य पारिनु नेपालको संविधानको धारा ७४ ले प्रत्याभूत गरेको बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाको ठाडो विपरीत रहेको बैठकको ठहर छ ।

दलहरूको आजको बैठकले चरम विभेदकारी र लोकतान्त्रिक मूल्यमान्यता प्रतिकूल रहेको ऐनको प्रावधान संशोधनको आग्रहसहित केही दिनमै निर्वाचन आयोग एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसद् सचिवालयसहितका सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने र संयुक्त रूपमा दबाबमूलक गतिविधि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।