
काठमाडौं, चैत २९ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरमार्फत् पानी हालिएको छ ।
सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
आइतबार बिहानदेखि लागेको नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि आगो नियन्त्रणका लागि प्रयोग गरिएको छ ।
तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टरमार्फत् पानी खसाल्न थालिएको हो । मेलम्ची खानेपानी आयोजनाबाट पानी भरेर आगालागी भएको क्षेत्रमा खसालिएको हो । डढेलो वस्ती छेउमा आउन नदिन दमकल प्रयोग गरिएको छ ।
आइतबार बिहान करिब ९ः३० बजेबाट बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको आगो करिब डेढ सय मिटर लम्बाईमा फैलिएको निकुञ्जका कर्मचारी सुरेन्द्र लामाले इमेजखबरलाई जानकारी दिनुभयो ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् ।
आगो बस्तीसँगैको पर्खालबाट शुरु भएको निकुञ्जका अर्का कर्मचारी गोपाल वस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्