१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयताप्रति जनतामा वितृष्णा बढ्यो, विकल्प खोज्न थालिसके – प्रधानमन्त्री केपी ओली


0
Shares

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी ओलीले संघीयताप्रति जनतामा वितृष्णा बढेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले संघीयताले कामै गरेन भन्दै यो काम नलाग्ने रहेछ भन्न थालेको उल्लेख गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्री भनेका छन् । सांसद भनेका छन् । कुदेका छन् । कागज बोकेको छ । अपवित्र गठबन्धन गरेर प्रदेशका सरकार हटाउने खेल चलाइएको छ । यस्तो दृष्यले जनताले संघीयता नहुने रहेछ भन्न थालेका छन् । संघीयता चल्ने रहेनछ भन्न थालेका छन् ।’

ओलीले थप्नुभयो, ‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ।’

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जसले देशमा वितण्डा मच्चाए । जसले लोकतान्त्रिक पद्धती विरुद्ध लागेर लोकतन्त्रवादी र वामपन्थीलाई मार्ने काम गरे । दक्षिणपन्थी र अराजकतावादीसँग मिलेर जनता मारे त्यसका पछी लाग्नेको कुन हबिगत हुन्छ हेर्दै जानुहोला ।’

आफूले पार्टी एक गरेर लैजान खोजेको, ज–जसले भागबण्डा मागे दिएको भन्दै उहाँले भन्नुभयो, ‘उल्टै भष्माशूरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोज्ने । मलाई नै पार्टीबाट हटाए । पार्टी अध्यक्ष, दलको नेता र सदस्यबाटै निष्काशन गरे । तमासा देखाइएको छ, केटाकेटीलाई दशैं आएझै भएको छ ।’

ओलीले थप्नुभयो, ‘पार्टी कब्जा गर्‍यौं । केपी ओलीलाई समाप्त पार्‍यौं भनेको होयन ? केपी ओलीलाई भित्तामा पुर्‍याउने रे ? कोहीले धूलोमा पु¥याउने, सिध्याइदिने रे । सबैतिर हटाएकाहरुले संसद विघटित भएकाले संसद सदस्यबाट निकाल्न नसकेको । नत्र त संसदबाटै निकाल्थे ।’
माधव नेपालहरु एमाले फुटाउन लागेको आरोप लगाउँदै ओलीले कुराचाहिँ एमाले नै बलियो बनाउने रे ? भन्नुभयो ।

माओवादी हिंसातर्फ लक्षित गर्दै ओलीले भन्नुभयो, ‘देशै ध्वस्त बनाउन हिडेका थिए । त्यस्ताहरुसँग माधव नेपालहरुको एउटै मिशन छ । कम्युनिष्ट पार्टी सिद्ध्याउने खेल भएको छ ।’

माओवादी युद्धप्रति आक्रोशित ओलीले भन्नुभयो, ‘त्यो युद्धले दिएको पीडा सम्बोधन नगरेको तर अझै तिनै पीडित कार्यकर्तालाई अल्मल्याउन खोजेको छ । कम्युनिष्ट विरोधी, राष्ट्र विद्रोही, आपराधीक उद्देश्य पूरा हुन दिइने छैन । सफल हुन दिइने छैन ।’

प्रचण्ड–माधव नेपालले कांग्रेससमक्ष बिन्तीपत्र हाल्न गएको भन्दै उहाँले भन्नुभयो, ‘जो भेट्यो त्यसलाई प्रधानमन्त्री भइदेउ न भन्या छ । शेरबहादुरदेखि महन्थसम्मलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । त्यो किनभन्दा कम्युनिष्ट सरकार ढाल्न र कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन ।’