
नुवाकोट, चैत ३१ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, कबिलासमा चोरी भएको छ ।
चैत्र २४ गते राति सामाजिक सुरक्षा वापतको ५३ लाख रुपैयाँ चोरी भएको हो । त्यति ठूलो रकम चोरी हुँदा पनि सम्बन्धित वडा कार्यालयले कुनै प्रतिक्रिया नजानाएको र खोजीका लागि पहलकदमी नलिएको आरोप स्थानीयहरुले गरेका छन् ।
एक महिनाको अवधिमा उक्त वडाको विभिन्न ठाउँमा व्यक्तिका घर र विद्यालयहरुमा समेत चोरी गरिनुका साथै तोडफोड हुँदै आए पनि उक्त रकमको सुरक्षाका लागि वडा कार्यालयले सावधानी नअपनाई लापर्वाही गरेको आरोप स्थानीयको छ ।
वडा कार्यालयबाट १०/१५ मिनेटको दूरीमा रहेको बैंकमा पैसा नराखी, असुरक्षित रुपमा वडा कार्यालयमै राखिएको र राखेकै दिन नाटकीय ढंगबाट चोरी हुनुमा स्थानीय घटनालाई रहस्यमय भएको प्रतिक्रिया दिन्छन् ।
यसअघि दश दस लाखका दरले मात्रै बैंकबाट नगद झिकेर वितरण गर्ने गरिएकामा यसपटक किन यति धेरै रकम निकालेको र सुरक्षा सावधानी बिनै राखिएकामा वडाका कर्मचारीदेखि वडाका जनप्रतिनिधिसम्मलाई छानबीनको दायरामा ल्याउनुपर्ने माग स्थानीयको छ ।
प्रशासनले वडाका जिम्मेवार व्यक्तिहरुसँग अनुसन्धान नगरेकामा पनि आपत्ति जनाउँदै घट्नाको सत्यतथ्य बाहिर ल्याउन सबैसँग माग गरेको स्थानीय जगदीश कुईंकेलले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्